गौर। विभिन्न ठेक्का सकार गरेर अलपत्र छोड्ने ठेकेदार कम्पनीलाई रौतहटको कटहरिया नगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ। कटहरियाका नगरप्रमुख अजयप्रकाश जैसवालले भवन निर्माणदेखि लिएर ढल निकास, बजार भवन, कोल्ड स्टोर्स लगायतका कामको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
नगरप्रमुख जैसवालले ठेक्का सकारी विगत दुई वर्षदेखि काम अलपत्र पारेका निर्माण व्यवसायीप्रति आक्रोश पोख्दै चाँडै कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन्।
आश्रय निर्माण सेवा र साह निर्माण सेवा लगायतका विभिन्न निर्माण कम्पनीले लामो समयदेखि ठेक्का सकारे पनि काम गर्न सकेको छैनन्। ठेकेदारले काम नगरेको भन्दै नगरप्रमुख जैसवालले निर्माण व्यवसायीलाई काम सञ्चालन गर्न बिहीबार अन्तिम पटक आग्रह गरेका छन्।
विकास निर्माणका काममा ढिलासुस्ती गरेर नगरलाई हानि नोक्सानी पुर्याउँदै आएका व्यवसायीहरूसँग पटक पटक छलफल गरेर काम थाल्न पटक—पटक आग्रह गर्दा समेत उनीहरूले अटेरी गर्दै आएको जयसवालको भनाइ छ।
विगत ४ वर्षअघि कटहरिया बजार व्यवस्थापनका लागि लिएको ठेक्कामा पिलर उठाएर त्यसै अलपत्र छाडिएको, नगरपालिका भवन त्यसै अधुरो छाडिएको उनले जानकारी दिएका छन्। यस्तै कोल्ड स्टोर्स भवन र जनता आवास कार्यक्रमको भवन निर्माण अलपत्र लगायत एक दर्जनभन्दा योजना अलपत्र छन्। थाहाखबरबाट