काठमाडौं। पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघको हिजोको बैठकले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो।
महासंघले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाउँदै भाडा समायोजनको लागि भदौ २४ गतेसम्मको अल्टिमेटम दिएको छ।
मन्त्रालयमा बुझाएको माग पत्रमा २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिओडी नलिने, भदौ २५ गतेबाट सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने र असोज १ गतेबाट भने आन्तरिक ढुवानीसमेत नगर्ने महासंघले चेतावनी दिएको छ।
ढुवानी भाडा समायोजन नगरे भदौ २६ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले बताएको छ। यथास्थितिमै निगमले संचालन खर्च बेहोरेर सञ्चालन गर्न चाहेमा टैंकर भने उपलब्ध गराइने छ।
ढुवानी भाडा वृद्धिका लागि यसअघि महासंघले ४ पटक आन्दोलन गरेको थियो। त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यान्वयन नगरेपछि महासंघले पाँचौं पटकको आन्दोलन घोषणा गरेको हो।
रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन महासंघले माग गर्दै आएको छ।
