काठमाडौं। काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै हिजोदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ।
पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरिएको छ। पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिनु परेको महानगरको भनाइ छ।
पाशुपत क्षेत्रका पसल व्यवसायीलाई हिजै अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे आजदेखि महानगरले सामान उठाएर लानेसमेत बताइएको छ।
पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकोले वडामा समेत दर्ता नभएका पसल संरचना हिजोदेखि बन्द गरिएको वडा न. ८ को कार्यालयले जनाएको छ।
अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीले चाडबाडका बीचमा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडाको सूचनालाई आत्मसात् गर्दै संरचना तथा पसल तत्काल हटाउने बताइएको छ।