तनहुँ। व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । व्यास नगरपालिका अन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो ।
नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान दिने निर्णय गरेको व्यासका सूचना प्रविधिक अधिकृत विशाल पण्डितले जानकारी दिए ।
नगरपालिकाले पत्रकार महासंघ तनहुँको सिफारिसका आधारमा यसअघि गरिएको पत्रकार स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय पनि गरेको छ । नगरपालिकाले गत वर्ष प्रतिव्यक्ति १० लाख रुपैपाँ बराबरको बीमा गरिदिएको थियो ।
नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं १, २, ३, ४ का विद्युत् लाइन र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ । आर्थिक ऐन, २०७९र०८० को व्यवस्थाअनुसार भवन निर्माण कन्सल्टेन्सीमा लाग्ने दस्तुर कार्यान्वयन नगर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।
नगरपालिकाभित्रका शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवा व्यवसायीलाई अनुदान दिने प्रक्रिया अघि बढाइने भएको छ । व्यास नगरपालिकाभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतका वडामा सुरक्षित आवास अन्तर्गत दुई सय घर थप भएकाले सो घर छनोट प्रक्रिया अघि बढाउने नगरपालिकाले जनाएको छ ।