काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको छ। शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजे जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी भएको थियो। स्थानीय ३७ वर्षीय राजकुमार महतोको चारकोठे कच्ची घरको किराना पसलमा विद्युत् सर्ट भई आगाली भएको सूचना अधिकारी पाठकले बताए। आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो। उक्त आगलागीबाट किराना पसलको सामान, फ्रिजलगायतको सामग्री जली करिब रु छ लाख बराबरको क्षति भएको जनाइएको छ।
त्यस्तै गए राति ९ः४५ बजे देवचुली–१३ को भाजियापुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रको भवनमा समेत विद्युत्को तार सर्ट भएर आगलागी भएको सूचना अधिकारी पाठकले बताए। आगलागी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कावासोती, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र कावासोती नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सो आगलागीबाट भाँडावर्तन र भवन गरी करिब सात लाख बराबरको क्षति भएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ।