चितवन। पवित्र धार्मिकस्थल देवघाटमा शिवको मूर्ति निर्माण गरिने भएको छ। ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको हो।
भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो। देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो। प्रदेश सरकारले निर्माण गरेको देवघाटधामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्टधातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही ठाउँमा रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नानघाट छेउको जग्गामा मूर्ति निर्माण हुने बताइएको छ।
मूर्ति निमार्णका लागि प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरूबाट सहयोगको आश्वासन प्राप्त भएको समितिले जनाएको छ। मूर्ति निर्माणमा रु छ करोड खर्च हुने अनुमान रहेको छ। मूर्तिको उचाइ ३० फिटको हुनेछ भने मोटाइ आठ फिटको रहने छ।