काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। विभागले तोकिएको समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
कार्यालयले आज (आईतबार) सूचना प्रकाशित गर्दै स्पष्टीकरण मागेको छ। प्रकाशित सूचनामा सम्झौता भएका ठेक्काका निर्माण कार्यमा सम्झौता बखत पेश भएको कार्यतालिका अनुसार करिब ६६ प्रतिशत समय गुज्रीसकेकोमा निर्माणको काम भने १० प्रतिशत मात्र रहेको जनाएको छ।
समयमा काम गर्न कार्यालयबाट पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा निर्माण व्यवसायीबाट समयमै निर्माण कार्य सकिने गरी निर्माण स्थलमा भौतिक रुपमा उपस्थित नदेखिएको र सो ठेक्काको प्रगति धेरै न्यून रहेकोले स्पष्टीकरण मागेको कार्यालयले सूचनामा उल्लेख गरेको छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा चित्त बुझ्दो जवाफ सहित निर्माण व्यवसायी स्वयँ उपस्थित भइ कार्यालयमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ। अन्यथा ठेक्का सम्झौताको शर्त तथा प्रचलित नियमअनुसार भैजाने व्यहोरा समेत कार्यालयले जनाएको छ।
कार्यालयले प्रकाशित गरेको सूचनामा सप्तकोशी जलाधार र ओम साई एण्ड कम्पनी जे.भी रहेका छन्।
