सोलुखुम्बु। पर्यटकीय क्षेत्र पिके डाँडादेखि दूधकुण्ड पोखरीसम्मको पदमार्ग निर्माण सुरु गरिएको छ। समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको पिके डाँडादेखि ४ हजार ६ सय मिटर उचाइको दूधकुण्डसम्म नयाँ पर्यटन पदमार्गको निर्माणको सुरु गरिएको हो।
ट्रेकिङ पर्यटनको विकासका लागि सोलुदूधकुण्ड नगरपालिका र पर्यटन विभागको संयुक्त समन्वयमा पदमार्ग निर्माण हुँदै छ। नगरपालिकाको प्राविधिक तथा व्यवस्थापकीय सहयोग र पर्यटन विभागको कुल ४ करोड ७७ लाखको लागतमा उक्त योजना अगाडि बढ्ने बताइएको छ। यो वर्ष पीके डाँडादेखि २५ किलोमिटरसम्म मार्ग निर्माणका लागि काम गर्ने जिम्मा जलुकेनि निर्माणले लिएको छ। पीकेबाट टाक्टोर, जुनबेंसी हुँदै दूधकुण्डसम्म जोड्ने लक्ष्य राखिएको पदमार्गको आगामी असारभित्र तोकिएको मापदण्डभित्र काम पूरा गर्ने निर्माण कम्पनीले जनाएको छ। ‘
हिमाली क्षेत्रको पर्यावरणमा असर नपर्ने गरी वातावरण सुहाउँदो संरचना निर्माण गर्ने पर्यटन विभागले जनाएको छ। ‘यो पटक ३ किलोमिटर सिँढी, ४ किलोमिटर सोलिङ, २ वटा विश्रामघर, १ सय घनमिटर जाली, २ सय ५० घनमिटर मेसिनरी वाल र आवश्यकताअनुसार काठेसाँघु निर्माण हुने पर्यटन विभागले बताएको छ।