मकवानपुर । मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा ब्रोडब्याण्ड सोलुसन्सले सेवा विस्तार गरेको छ । इन्टरनेट कम्पनी ब्रोडब्याण्डले मंगलबर उद्घाटन गरी मनहरी र राक्सिराङमा आफ्नो फाइबारसहितको इन्टरनेट सेवा विस्तार गरेको हो ।
मनहरी बजार र आसपासका क्षेत्रसहित राक्सिराङको चैनपुर र सरिखेत क्षेत्रमा इन्टरनेट सेवा विस्तार भएको छ । आज बागमती प्रदेश सभाका सदस्य ओम घलानले रिबन काटेर मनहरीमा यस कम्पनीको शाखा कार्यालय उद्घाटन गरेका छन्।
उद्घाटनपछि बोल्दै सांसद घलानले अहिलेको आधुनिक दुनियाँमा इन्टरनेट मानिसको आधारभुत आवश्यकता बनिसकेको बताए । उनले शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत दैनिक जीवनयापनका सन्दर्भमा पनि इन्टरनेटको महत्व उच्च भएकाले गुणस्तरिय र सरल सेवा दिन आग्रह गरे ।
यसै क्रममा ब्रोडब्याण्ड सोलुसन्स मनहरीका सञ्चालक दिनेश बिशुङखेले सुपथ मुल्यमा सरल र तीव्र गतिको इन्टरनेट सेवा मनहरी र राक्सिराङ क्षेत्रमा शुरु गरिएको बताए । हालसम्म इन्टरनेटको पहुँचमा नरहेका विकट र दुर्गम ठाँउहरुमा पनि इन्टरनेटको सेवा पुर्याउने उनले जानकारी दिए ।