काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षारोपण गरिएको छ। आउँदो असोज दोस्रो साता आयोजना गर्न लागिएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षारोपण गर्न सुरु गरिएको हो।
पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको समन्वयमा नेपाली सेनाको ताप्लेजुङस्थित भीम काली गुल्मले बुधवार देखी उक्त कार्य सुरु गरेको हो। पाथीभरा क्षेत्रको काफ्ले पाटीदेखि पाथीभरा धामसम्म सरसफाइ सञ्चालन गर्ने र ठाउँ ठाउँमा वृक्षारोपण गर्ने गरी अभियान सुरु गरिएको बताइएको छ।
सरसफाइ र वृक्षारोपण अभियान शुक्रबारसम्म सञ्चालन हुने छ। पहिलो दिन बुधवार माथिल्लो फेदी बजारदेखि धाम सम्मको क्षेत्रमा करिब चार सय बोरा फोहोरजन्य वस्तु सङ्कलन गरेको नेपाली सेनाले जनाएको छ।