काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज शुक्रबारबाट इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ।
हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो।
सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ। यो सँगै ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने भएका छन्।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने समेत उल्लेख गरिएको छ।
नयाँ प्रिपेड सिमकार्डमा भने तत्कालै ई–सिम उपलब्ध नहुने देखिएको छ। टेलिकमका अनुसार नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकले भने ई–सिमका लागि केही समय पर्खनु पर्नेहुन्छ। तर, पुराना प्रिपेड ग्राहकले भने आफ्नो पुरानो सिमलाई ई–सिममा रूपान्तरण गर्न सक्नेछन्।
त्यसका लागि ग्राहकले सिम लिन आवश्यक फारम भरेर काउण्टरमा बुझाउनु पर्ने उल्लेख गरिएको छ।
