अछाम । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ ।
घटनामा २० जना घाइते भएका छन् । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले बताए ।
उता तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको उनले बताए। अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले जानकारी दिए।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे गृहमन्त्री बालकृष्ण खाण जानकारी लिएका छन् । उनले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन समेत दिएका छन् ।