चितवन। भरतपुर महानगरपालिकामा ढलको पानी व्यवस्थापन गरिने भएको छ। महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको हो।
यहाँ खानेपानी र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम गरिने भएको हो। विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाले कामका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम गरिरहेको छ । देशका १२ सहरमा ढल व्यवस्थापनको काम गर्ने तयारी छ । तीमध्ये पाँच सहरलाई पहिलो चरणमा राखिएको छ । तीमध्ये पनि भरतपुर महानगरपालिकाको कामलाई तीव्ररूपमा अघि बढाइएको विभागले जनाएको छ।
आगामी असारसम्ममा विस्तृत अध्ययन प्रतिवेदनको काम सम्पन्न गरी बोलपत्र आह्वान गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। त्यसको दुईदेखि तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भरतपुर–१ देखि १२ सम्मका वडामा पहिलो चरणमा यो परियोजना सुरु गरिँदै छ । वर्षात्को पानीको व्यवस्थापन मुख्य काममा राखिएको छ । ढल निकासमार्फत पानी जम्न नपाउने गरी व्यवस्थापन गरिने छ । शौचालयबाट निकालिएको फोहरलाई प्रशोधन गरी पानी नदीमा मल बारीमा प्रयोग गर्ने तयारी गरिएको छ । यसैगरी ढलमा बगेको पानीलाई सोझै नदीमा नमिसाइ प्रशोधन गरिने बताइएको छ।