भरतपुर। चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ। गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो।
एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको बताइएको छ। राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङबोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्ने गाउँपालिकाले जनाएको छ। धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ। यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ।