दाङ। दाङमा डुबेर बालकको मृत्यु भएको छ। जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुन खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।
वडा प्रहरी कार्यालय लमहीले लमही – ४ अर्नवा गाउँका अमित बिक र सोही ठाउँका ललित परियारको नुहाउने क्रममा डुबेर मृत्यु भएको जनाएको छ। उनीहरू दुवैको उमेर ११ देखि १२ वर्ष रहेको थापाले बताए।
पाँच जना बालक मिलेर अर्जुन खोला पुनमुनि नुहाउन गएकामध्ये दुई जना डुबेपछि नजिकैको थप तीन जनाले सशस्त्र प्रहरी बललाई खबर गरेका थिए। त्यसपछि सशस्त्र प्रहरीले उनीहरूलाई उद्धार गरी लमही अस्पतालमा पुर्याएको थियो। अस्पताल पुर्याएलगत्तै उनीहरू दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी का अनुसार घटनाबारे पाँच बजे मात्रै प्रहरीलाई सूचना प्राप्त भएको थियो। दुई बालक साढे ३ बजेतिर नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएको खबर साथीहरूले सशस्त्र प्रहरीलाई अवगत गराएका थिए।
दसैंको पूर्व सन्ध्यामा अर्नवा गाउँका दुई बालकको डुबेर मृत्यु भएपछि उक्त गाउँ शोकमा डुबेको स्थानीयले बताएका छन्।