जुम्लाम । पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए।
“बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उनले भन्नुभयो, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।”
जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए ।
“हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो”, उनले भने, “साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए ।
वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।