काठमाण्डौं। सिन्धुपाल्चोकको दुगुनागढी र लिस्तिकोटको ऐतिहासिक एवं धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले आगामी कात्तिक १७ गते ‘लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ। भोटेकोसी गाउँपालिका–३ स्थित सुक्खा बन्दगाहबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किमी दूरी क्षेत्रमा उक्त प्रतियोगिता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले सञ्चालन गर्दै आएको यो प्रतियोगीता तेस्रो संस्करण हो। सिन्धुपाल्चोककै गौरवका रुपमा रहेको दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तिकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गरी ती स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता हुँदै आएको छ।
सेनाको पहलमा भोटेकोसी गाउँपालिकाको आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन गरिने छ। प्रतियोगिता खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा सञ्चालन हुनेछ। खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख १० हजार, ७५ हजार र ५५ हजार नगद पुरस्कार प्रदान गरिने सेनाले जानकारी दिएको छ। महिलातर्फ प्रथम हुनेलाई ६० हजार, दोस्रोलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ। जिल्लावासीका तर्फबाट प्रथम हुनेले ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रोलाई १५ हजार नगद प्रदान गरिने छ।