काठमाण्डौं। जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ। हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन नसकेपछि खच्चडको सहारा लिनु परेको हो।
जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्या देखिएको बताइएको छ। सडक ठाउँ–ठाउँमा भत्किएका कारण पैदलयात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ। तत्काल सडक सञ्चालन गर्नका लागि नदीमा पानीको मात्रा कम नभएकाले डोजर लैजान सक्ने अवस्थासमेत नरहेको बताइएको छ।
भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडक, कालिमटी–बारेकोट, खलङ्गा–कुशे सडक र बारेकोट, पश्चिम छेडाबजार जुनिचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ। यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयवासी आफैँले बोकेर सामग्री लैजानुको विकल्प अर्को नभएको सर्वसाधारण बताउँछन्। बाटो अवरुद्ध भएसँगै निर्माण सामग्री लैजानसमेत समस्या भएको बताएको छ।