सोलुखुम्बु। देशका दुर्गम स्थानमध्ये एक मानिने सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमले अप्टिकल फाइबर लिंक स्थापना गरेको छ। ग्राहकहरुलाई दिगो र निरन्तर दुरसञ्चार सेवा प्रयोग गर्न पाउने सुविधा प्रदान गर्नका लागी कम्पनीले यो सेवा सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने जनाएको छ। समुन्द्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई १० जिबिपिएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो।
रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा लामो समयदेखी सेवाग्राहीहरुको आवश्यकता र चाहाना भएतापनि उच्च गति तथा गुणस्तरको सेवा उपलब्ध हुन भने सकेको थिएन। कम्पनीका अनुसार अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्याशित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने छ।
पत्तालेको रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लुलगाएतका उच्च हिमाली र सोलुखुम्बु जिल्लाको सम्पुर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवुद्धि हुने कम्पनीको दाबी रहेको छ। यसका साथै उक्त लिंकबाट ओखलढुंगा र खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुने जनाइएको छ।