बुटबल। १६ करोड लागतमा बुद्धको जन्मस्थल लुम्बिनीमा प्राचीन नेपाली कलासहितको नेपाली विहार निर्माण गरिएको छ। नेपाली लगानीमा नै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाबिहार निर्माण गरिएको हो। लिच्छविकालीन तथा मल्लकालीन काष्ठकला र कलाकृतिले सजिएको बिहारको उद्धघाटनको लागि आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी गएकी छिन। उनले बज्रयान बिहारको अवलोकन, मायादेवी मन्दिरमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्षले जानकारी दिएका छन्।
नेपालमा यस्तो शैलीको बिहार ३५० वर्षभन्दा यत नबनेको बिहारका अध्यक्षले बताएका छन्। बज्रयानी महाबिहार निर्माण गरेर बिहार निर्माणको सिलसिला सुरु गरेको उनले जनाएका छन्। बिहार पहिलो तला निर्माणको लागि काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख रुपैँया सहयोग गरेको र सो रकमबाट मण्डला तयार भएको छ।
राष्ट्रपति भण्डारीले आइतबार मण्डलाको उद्धघाटन र बिहार अवलोकन गर्ने कार्यक्रम तय भएको बिहारको अध्यक्षले जानकारी गराएका छन्। करिब १६ करोड खर्च भएको बिहार १ बिगाहा क्षेत्रफलमा निर्माण भएको छ। त्यस्तै स्वदेशी लगानीमै लुम्बिनीमा बज्रयानी बिहारनिर्माण भएको पहिलो पटक हो। प्रचिन सँस्कृति झल्किने काष्टकला प्रयोग गरिएकोले उक्त बिहार निकै आकर्षक रहेको छ।