काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय धुलिखल, काभ्रेपलाञ्चोकले तिन वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले समयमा काम नगर्ने तिन वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालयले आज सूचना प्रकाशित गर्दै यस योजना कार्यालयसँग ठेक्का सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको बताएको छ। निर्माण कार्य सम्पन्न गर्न यस अघि पनि पटक पटक मौखिक निर्देशन लिखित पत्र पठाउँदा समेत लामो समयसम्म निर्माण कार्य गर्ने तर्फ कुनै पनि ताकेता नगरेको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
ठेक्का तोड्न नपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन अनसरोध गरिएको छ।
अन्यथा, यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का तोडी कानुनी कारबाही अगाडी बढाईने कार्यालयले जनाएको छ। कार्यालयले प्रकाशित गरेको सूचनामा सिरुवा कन्स्ट्रक्सन, भारत कन्स्ट्रक्सन र मैनाचुली सिद्धिसाई निर्माण कम्पनी रहेका छन्। जसमा सिरुवा कन्ट्रक्सन कम्पनीले खोटाङको पङ्खु खोला पुल निर्माण को जिम्मा पाएको थियो भने, भारत कन्स्ट्रक्सन र मैनाचुली सिद्धिसाई निर्माण कम्पनीले भोजपुर–दिक्तेल सडक खण्ड निर्माणको जिम्मा पाएको थियो। तिनै वटा निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको कार्यालयले जनाएको छ।
