काठमाडौं। बेमौसमी वर्षाको कारण आएको बाढीले मोरङ औद्योगिक क्षेत्रमा साढें २ अर्ब बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ।
उद्योग संगठन मोरङले यस क्षेत्रका ४१ वटा उद्योगमा गरेको सर्वेक्षण प्रतिवेदन अनुसार कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण २ अर्ब ४८ करोड बराबरको क्षति भएको छ। त्यसमध्ये मेशिन औजारमा ८९ करोड बराबर, कच्चा मालवस्तुमा ७१ करोड बराबर, तयारी वस्तुमा ७६ करोड बढी क्षति भएको संगठनले जानकारी गराएको छ।
त्यसैगरि, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक लगायतका खर्चहरु र उत्पादनको अवसर मुल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको पनि जनाइएको छ। त्यस्तैगरी ४ वटा उद्योग अझै पूर्ववत सञ्चालनमा आउन नसकेको पनि जनाइएको छ।
त्यस्तै करिडोरका उद्योगीहरुले बेमौसमी रुपमा आएको वाढीले उद्योग व्यवसायलाई पारेको क्षतिलाई राज्यले गम्भीर रुपमा लिई आगामी दिनमा पूर्वाधार निर्माणमा सचेत हुुनुपर्नेमा जोड दिएका छन्।