काठमाडौं। आगामी मंसिर १५ गतेभित्र काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने भएको छ। मेलम्चीको सुरुङको मुख्य पोर्टल क्षेत्रमा कुनै पनि प्राविधिक समस्या नदेखिएको खण्डमा मंसिर १५ गतेभित्रै पानी ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ। समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ ।
अहिले हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान ८ देखि १० दिनभित्रै सफा गर्ने र आवश्यक अन्य काम सकेर मंसिर १५ गतेभित्रै मेलम्चीको पानी सुरुङमा खसाल्ने कार्यतालिका तय गरेको समितिले जनाएको छ।
वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो।
याे पनि:
काठमाडौंमा खानेपानीको अभाव बढ्दै, कहिले आउँछ मेलम्चीको पानी?