बाँके। नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा बुधबार विष्फोट भएको प्रहरीले जनाएकाे छ।
प्रहरीकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन्। बडुवालको अवस्था गम्भीर रहेको छ।
घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोट नभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरीले जनाएकाे छ।
स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए। प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ।