एजेन्सी। जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ। मलेसियन एयरलाइन्सको कलसाइन एम–एच १७ को जहाज खसाएर तीन सय जनाको हत्या गरेको अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको हो।
नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले जनाएको छ।
सन् २०१४ नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको जहाजलाई पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहार गरी पूर्वी युक्रेनमा खसाएका थिए।
रूस समर्थित पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहारले जहाज खस्दा २ सय ९८ जनाको मृत्यु भएको थियो। घटनामा रूसका पूर्व कर्नेल इग्गोर गर्किन, खुफिया एजेन्सीमा काम गर्ने सर्गेई दुब्निस्कीलाई अदालतले दोषी ठहर गरेको हो।
यस्तै उनीहरूलाई सहयोग गर्ने युक्रेनी नागरिक लियोनार्द खार्चिन्कालाई पनि अदालतले आजिवन काराबासको सजाय सुनाएको छ। अभियुक्तहरू अझै फरार छन्। उनीहरूलाई रूसले लुकाएको आशंका छ।
यो मुद्दामा विगत दुई वर्षदेखि सुनुवाई जारी थियो। घटनाको जिम्मेवारी सुम्पिने हिसाबले सुनुवाई भइरहेको भनिएको यस मुद्दामा अदालतले दोषीलाई सजायसमेत तोकेको छ।
२०१४ को जुलाई १७ मा एमएच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।