सल्यान। जिल्लाको बन्गाडकुपिण्डे –१२ निगालचुलाको माझखर्क र चौरमा विगत तीन वर्षदेखि खानेपानीको हाहाकार भएको छ । २०६६ मा निर्माण गरेको सौर्यऊर्जा खानेपानी योजनाको मोटर बिग्रिएपछि खानेपानीको हाहाकार भएको हो।
समुद्र सतहदेखि झन्डै २ हजार मिटर उचाइमा रहेको बस्तीमा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् । उनीहरू एक गाग्री पानीका लागि एक डेढ घन्टा हिँडेर नजिकैका कुवा तथा खोलाहरूमा धाउन बाध्य छन् । खानेपानीको हाहाकार भएपछि माझखर्क ५३ र चौरका ५७ गरी एक सय १० घर परिवार प्रभावित छन् ।
२०६६ मा तत्कालीन निगालचुला गाविसले ३ लाख खर्चेर योजना निर्माण गरेको थियो । गाउँमा खानेपानी नहुँदा घण्टौं हिँडेर पानी बोक्नुपर्ने स्थानीय बताउँछन्।
पानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पशुपालन गर्न पनि समस्या छ ।
निगालचुलामा रहेको स्वास्थ्यचौकीमा पानीको समस्याका कारण प्रसूति गृहमा सेवा दिन कठिनाइ भएको बताइएको छ। खानेपानी योजनाका लागि पटकपटक बजेट बिनियोजन गरे पनि मर्मतको नाममा दुरुपयोग भएकाले खानेपानी समस्या जहाँको तही रहेको स्थानीय बताउँछन्।