काठमाडौं। काठमाडौंबासीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी अस्थायी रूपमा भए पनि तत्कालै उपलब्ध गराउने बताउनुभएको छ।
खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुग्नुभएका मन्त्री चौधरीले मंगलबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा विज्ञहरूको टोलीले निरीक्षण गरेको र आफूले समेत स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौंबासीलाई अस्थायी रूपमा खानेपानी उपलब्ध गराउने बताउनुभयो।
आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो।
झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागिपर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ। मुलुककै उत्कृष्ट खानेपानी संस्थाका रूपमा चिनिएको बिर्तामोड साना शहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने उहाँको आश्वासन छ।