काठमाडौं। सरकारले प्रतिस्थापन बजेटमार्फत स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित बिलेटमा अन्तःशुल्क बढाउने निर्णयका कारण स्वदेशी स्टिल उद्योग ६ महिनाभित्र बन्द हुने स्टिल उद्योगीहरुले बताएका छन्। सरकारको सोही निर्णयको कारण डेढ महिना भित्र ४ स्टिल उद्योग बन्द भइसकेका छन्।
त्यसैले सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिँदै उद्योगीहरुले मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा तत्काल निर्णय फिर्ता नलिए नेपालमा रहेका ३० वटा मध्ये २४ वटा स्वदेशी स्टिल उद्योग पनि ६ महिना भित्र बन्द हुने चेतावनी दिएका छन्। सो बैठकमा पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशकले सरकारको निर्णयले डेढ महिना भित्रमा ४ वटा स्टिल उद्योग बन्द भइसकेको र अन्य २ वटा उद्योग पनि बन्द हुने अवस्था रहेको बताउँदै उनले पुराना कच्चा पदार्थहरु भएका उद्योगहरु जेनतेन गरेर हाललाई चलिरहेको बताएका छन्। उनले खर्बौं लगानीका स्टिल उद्योगहरु बन्द गराउने गरी सरकारले निर्णय लिएकाले त्यसलाई सच्याउन सम्बन्धित निकायहरुसँग गुहार माग्नुपर्ने अवस्था आएको पनि जनाएका छन्।
बैठकमा साखः स्टिल प्रालिका प्रबन्ध निर्देशक साखः र पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशकले ६ वटा उद्योगलाई मात्रै केन्द्रित गरेर स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने सरकारको निर्णय देशको हितमा नहुने भन्दै मान्य नहुने चेतावनी पनि दिएका छन्।
त्यस्तै समितिका सदस्यहरुले पनि स्वदेशी उद्योगलाई बन्द गराउने गरी सरकारले निर्णय गर्न नमिल्ने उल्लेख गर्दै सो सम्बन्धमा अर्थ मन्त्रालयसँग तत्काल छलफल गर्नुपर्ने बताएका छन्। समितिका सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले लगाएको अन्तःशुल्क घटाउन पाउने व्यवस्था रहेको उल्लेख गर्दै तत्सम्बन्धमा तत्काल अर्थ मन्त्रालयसँग छलफल गरेर समितिले आवश्यक निर्देशन दिनुपर्ने बताएका छन् भने समितिका अर्का सदस्यले पनि सो सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरेर नेपालको स्वदेशी उद्योगलाई अन्याय गर्न समितिले दिन नहुने धारणा राखेका छन्।