काठमाडौं। सडक डिभिजन, इलामले समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने १२ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
सडक डिभिजन इलाम र निर्माण व्यवसायीहरु बिच बिभिन्न मितिमा खरिद सम्झौता भएका ठेक्काहरुको न्यून कार्य प्रगति भएका, म्याद समाप्त भएका र बाह्य समस्या बिना लामो समयसम्म निर्माण कार्य रोकिएका ठेक्काहरुको निर्माण कार्य अगाडी बढाउन बिभिन्न समयमा लिखित तथा मौखिक ताकेता गर्दा समेत सन्तोषजनक कार्य प्रगति नभएको कार्यालयले जनाएको छ।
निर्माण कार्य गर्न गरिएको ताकेतालाई पनि वेवास्ता गरि निर्माण कार्य गर्ने तर्फ कुनै पनि चासो नदिएको सडक डिभिजन कार्यालयले इलामले जनाएको छ। ठेक्का तोड्न नपर्ने कुनै पनि कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा भरपर्दो कार्यतालिका र विश्वसनिय स्पष्टिकरण सहित आधिकारिक व्यक्तिहरु यस कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।
अन्यथा, यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का सम्झौता सर्त अनुसार कानुनी कारबाहीको प्रकृया अगाडी बढाईने कार्यालयले जनाएको छ।
