काठमाडौं। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, ईटहरी, सुनसरीले समयमा काम नगर्ने ४ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै लामो समय सम्म काम नगर्ने ४ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
निर्माण भईरहेका निर्माण कार्यको प्रगति न्यून भएको र बिना कारण लामो समयदेखि निर्माण कार्य रोकिएको ठेक्काहरुको निर्माण कार्य अगाडी बढाउन विभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माण व्यवसायीले कुनै चासो नदिएको कार्यालयले जनाएको छ।
निर्माण कार्य गर्न नसक्ने केही कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्रमा आधिकारिक प्रतिनिधि स्वयम योजना कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गरी तत्काल निर्माण कार्य अगाडी बढाउन कार्यालयले अनुरोध गरेको छ।
अन्यथा, ठेक्का सम्झौता तथा सार्वजानिक खरीद ऐन २०६३ मा व्यवस्था भए वमोजिम आवश्यक कारवाही प्रकृया अगाडी बढाईने कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले प्रकाशित गरेको सूचनामा गौरीपार्वती–देव एण्ड सायर–भुमी जे.भी विराटनगर र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.ली. हेटौडाको नाम उल्लेख गरिएको छ।
