काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै कानुनी कारबाहीको माग गरीएको छ। निर्धारित समयमा निर्माणको काम नसकिएको र थप भएको म्याद सकिन लाग्दा पनि निर्माण कार्य क्षेत्रमा निर्माण कम्पनी परिचालन नभएको कारणले गर्दा त्यहाँका स्थानीयहरुले कानुनी कारबाहीको माग गरेका हुन्।
नेकपा एमाले रघुगंगा कमिटिका अध्यक्षले पूर्वाधार विकास कार्यलय म्याग्दीमा ध्यानाकर्षण गराएका छन्। उक्त कमिटिका अध्यक्ष् नेतृत्व टोलिले सडक कालोपत्रे योजनामा चरम ढिलासूस्ती र लापरबाही गर्ने निर्माण कम्पनीलाई छानबिन गरी कारबाहीको माग गरेका छन्। भने स्थानीय सरोकारवाला र युवाले ठेकेदार कम्पनीको खोजी गर्न सामाजिक सञ्जाल दबाब बढाएका छन्। २०७६ जेठदेखि एपेक्स–खड्का कृष्ण जे।भी काठमाडौंले गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र, एक सडक आयोजना अन्तर्गत पूर्वाधार विकास कार्यलय मार्फत गत जेठमा काम सक्ने सर्तका साथ निर्माण कार्यको लागि ठेक्का सम्झौता गरेको थियो। तर हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
गलेश्वर देखि पिप्ले बगैचासम्मको सडकलाई समयमा नै संरक्षण र पूर्वाधार निर्माण नगर्दा पहिरोले क्षतविक्षत बनाएको छ भने पिप्लेदेखि भगवतीसम्मको सडक फराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने काम मात्र भएको छ। नाली व्यवस्थापन नगर्दा बस्तीमा बाढी पसेको साथै सडकका कारण बस्ती नै जोखिममा परेको र निर्माण कम्पनीले निर्माण सम्पन्न गर्न उदासिनता देखाएपछि कारबाहीका लागि ध्यानाकर्षण गराएको एमाले रघुगंगा गाउँपालिका कमिटिका अध्यक्षले जानकारी गराएका छन्।