काठमाडौं। पूर्वाधार विकास कार्यालय चितवनले समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने १८ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
सम्झौता भएका ठेक्काहरु समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि लामो समयदेखि निर्माण कार्य गर्ने तर्फ कुनै पनि चासो नदिएको कार्यालयले जनाएको छ। कार्यतालिका अनुसार प्रगति हासिँल नगरेको हुँदा समयमै काम गर्न कार्यालयले अनुरोध गरेको छ।
यो सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्रमा कार्य प्रगति देखिने गरी साईटमा स्रोतसाधनहरु परिचनलित गरी कार्यमा तिब्रता दिई आधिकारिक प्रतिनिधि स्वयं अनिवार्य रुपमा कार्यालयमा उपस्थित भई सुनिश्चितता सहितको संशोधित कार्य तालिका पेश गर्न कार्यालयले अनुरोध गरेको छ।
तोकिएको समयमा काम सम्पन्न नभएमा आफू स्वयं जिम्मेवारीहुने साथै ठेक्का सम्झौताको सर्त र प्रचलित सार्वजानिक खरिद ऐन २०६३ तथा सार्वजानिक खरिद नियमावली २०६४ बमोजिम अगाडी बढ्ने कार्यालयले जनाएको छ।
