तनहुँ। तनहुँको व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको परिसरसँग जोडेर पार्क र छात्रावास निर्माण गरिएको छ। शहीदको सम्झनामा ‘शहीदचन्द्र नेपाली छात्रावास तथा पार्क’ निर्माण गरिएको हो ।
पार्क र छात्रावास २००७ माघ १ गते राणाशाहीको गोलीबाट तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुरमा सैनिक हिरासत मारिएका व्यास नगरपालिका –११ तनहुँसुर निवासी चन्द्रबहादुर सार्की (नेपाली) को सम्मानमा निर्माण गरिएको हो । पार्क तथा छात्रावासको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले एक कार्यक्रमबीच शुक्रबार उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा मन्त्री विकले शहीदको सम्मानमा पार्क तथा छात्रावास सञ्चालनमा आएको क्षण आफ्नो जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताए। शहीदको योगदानलाई जीवन्त राख्न यस्ता पार्क तथा छात्रावासले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
गण्डकी प्रदेशसभाका सदस्य हरिबहादुर चुमान, निवर्तमान सदस्य सरिता गुरुङ, जिल्ला समन्व्य समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले छात्रावासको क्षमता विस्तारका लागि सबै जना एकजुट हुनुपर्ने र भविश्यमा छात्रहरुका लागि पनि आवासको व्यवस्था गर्न पहल गर्न जरुरी रहेको उनले बताए ।
यस छात्रावासको परिकल्पनाकार पूर्व राष्ट्रिय सभाका सदस्य ऋषिबाबु परियार हुन् । यसलाई मूर्तरुप दिने कार्य कांग्रेस तथा गण्डकी प्रदेशका मन्त्री विकले गरेको छात्रावास सञ्चालक समितिका पूर्व अध्यक्ष केशबहादुर सुनारले जानकारी दिए।