काठमाडौं। पूर्वाधार विकास कार्यालय धुलिखेलले ४० वटा निर्माण कम्पनीहरुलाई समयमा काम सक्न निर्देशन दिएको छ। विभिन्न सडक र पुलको काम अलपत्र पार्ने कम्पनीलाई समयमा काम गर्न निर्देशन दिएको हो।
कार्यालयले आज (सोमबार) सूचना प्रकाशन गर्दै समयमा काम नगरे ठेक्का तोड्ने चेतावनी दिएको छ। तोकिएको समयवधिमा भित्र काम गर्न पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि लामो समयसम्म निर्माण कार्य गर्ने तर्फ कुनै चासो नदेखाएको कार्यालयले जनाएको छ।
सम्झौता बमोजिमको म्याद भित्र कार्य सम्पन्न गर्ने गरी साइटमा श्रोतसाधनहरु परिचालन गरी कार्यमा तिब्रता दिई आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने विश्वसनिय आधार सहित कार्यतालिका पेश गर्न कार्यालयले अनुरोध गरेको छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा कार्यस्थलमा आवश्यक मात्रामा श्रोत साधनहरु परिचालित नगरेकोमा जतिसूकै बेला ठेक्का सम्झौताको शर्त अनुसार ठेक्का अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।

