काठमाडौं। गण्डकी प्रदेश मातहत जिल्लामा २६ हजार ८८ घरमा खानेपानीका धारा जडान गरिएको छ। ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि जिल्लामा २६ हजार ८८ वटा धारा जडान गरिएको हो।
प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गोरखा र लमजुङ जिल्लामा काम गरिरहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० मा ७ हजार निजी धारा निर्माण भइसकेका छन् । यस्तै, आव २०७५–७६ मा २ हजार ८ सय ६९, २०७६–७७ मा ९ हजार ४२ घरमा धारा निर्माण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०७७–७८ मा २ हजार ९ सय ३८ र २०७८–७९ मा ४ हजार २ सय ९९ धारा निर्माण गरिएको छ। कार्यालयले गत चार वर्षमा ८३ वटा योजना सम्पन्न गरेको छ । योजनाको काम स्थानीय उपभोक्ता तथा ठेक्का प्रणाली दुवै तरिकाबाट हुनेगरेको बताइएको छ। चालु आर्थिक वर्षमा विभिन्न योजनाहरु निर्माणको क्रममा रहेकाले धाराको सङ्ख्या बढ्ने कार्यालयको भनाइ छ ।