काठमाडौं। पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिक बनाइएको छ। पोखरा महानगर ३ नदीपुरस्थीत नारायणस्थान मन्दिर परिसरमा रहेको विरेन्द्रपार्कमा नेपाल सम्वतका प्रवर्तक साख्वाको पूर्णकदको शालिक राखिएको हो। शालिकको नेपाली काङग्रेसका संगठन विभाग प्रमुख एवम् पूर्वउप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गरेका हुन्।
उक्त शालिक नेवा खलः कास्की र नेवाः ल्याम्ह पुचःको सहयोग र समन्वयमा निर्माण गरीएको हो। शालिकको अनावरणपछि बोल्दै नेता श्रेष्ठले गरिब जनताको ऋण मुक्त गर्ने साख्वाःको योगदानको कदर गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको बताए। समाजमा रहेका विपन्न व्यक्तिको पहुँच स्थापित गर्नका लागी समताको आधारसमेत आत्मासाथ गर्नुपर्नेमा उनले जोड दिए।
साख्वाको शालिक स्थापनाले पोखराको गौरब बढाएको गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले बताए। फोहोर फाल्ने ठाँउको रुपमा रहेको स्थानलाई पार्कको रुपमा विकास गरी राष्ट्रिय विभूतिको शालिक राख्दा नरायणस्थान मन्दिर परिसर आकर्षक स्थान बनेको बताए।
कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष असोका पालिखेले नेपाल सम्वतलाइ व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। यसैगरी पोखरा महानगर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले वीरेन्द्र पार्क क्षेत्रको विकासका लागि गुरु योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।