काठमाडौं। हुम्ला जिल्लाको सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको उक्त ठाउँको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्याउने गरी निर्माण अघि बढाइने भएको छ। सो ठाउँको ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरू गर्ने भएको हो। राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्र्याक खोल्न बाँकी रहेकोमा ७ किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो। ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै हालसम्म सडक सञ्जालसँग जोडिएको छैन। सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो।
हाल ट्र्याक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ। विभागले निर्माण गर्ने सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ। सेनाले ट्र्याक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आर्थिक वर्षमा निर्माण गरिने योजनाका प्रमुखले जानकारी दिएका छन्। सेना र विभाग मिलेर चालू आवभित्रै ट्र्याक खुलाउन लागेको हुनाले स्तरोन्नतिको काम विस्तारै हुने उनले जानकारी गराए। सेनाको प्राविधिक टोलीले यो भन्दा अगाडी नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो।
सेनाले सिमकोटबाट काम गर्नेछ भने आयोजनाले सलिसल्लाबाट काम गर्ने योजना प्रमुखको भनाई रहेकोछ। केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरूले चालू आर्थिक वर्षमा समेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए। केही वर्ष पहिलेसम्म सो ट्र्याक खोल्न १० वर्ष लाग्ने बताएको भएता पनि हाल अरू कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आर्थिक वर्षमा सडक निर्माण सम्पन्न हुने योजना प्रमुखले जानकारी दिएका छन्।
यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो। बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको हो। सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ। हालसम्म ट्र्याक खुलिसकेको सडक ८ मिटर चौडाइको रहेको छ। यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ। सेनाले ट्र्याक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने आयोजना प्रमुखले जनाए।
सेनाले खुलाएको ट्र्याक पनि विस्तार गरेर ८ मिटर नै चौडा बनाइने भएको छ। सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने भएको छ। चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ। यस राजमार्गमा हालसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग नभएकको र नेपाल सरकारको बजेटबाटै स्तरोन्नति गर्न लागिएको आयोजना प्रमुखले जानकारी गराएका छन्। हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५/१५ मिटर चौडाइ हुनुपर्नेमा हाल ८ मिटर खोलिएको छ साथै अधिकांश ट्र्याकमा ठूलाठूला चट्टान भएकाले निर्माणमा ढिलाइ भएको योजनाले जनाएको छ। उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाइ भएको थियो।
उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण बन्द रहने हुँदा पनि वर्षा याममा थोरै महिना मात्रै सडक बनाउन सकिने आयोजनाले जनाएको छ। हाल सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्र्याकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ। लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग रहेको मध्ये पनि सबैभन्दा अफ्ठ्यारो भाग सेनाको कर्णाली कोरिडोर विकास निर्माण दलले खुलाउने भएको छ।