काठमाडौं। विराटनगर महानगरपालिकाले वडा नम्बर १४ स्थित रानीपोखरीमा ग्रिनपार्क निर्माण गर्ने भएको छ। महानगरपालिकाले पाँच करोडभन्दा बढीको लागतमा ग्रिनपार्क निर्माण गर्ने भएको हो।
उक्त ग्रिनपार्कको बुधबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ ग्रिनपार्कको निर्माण सुरु गरिएको हो।
रानीपोखरी ग्रिनपार्क पाँच करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुने बताइएको छ। साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्डवाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायत हुनेछ ।
निर्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । आठ करोड, ३६ लाख ७७ हजार १ सय ६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्र्डसले करिब तीन करोडभन्दा कम रकममा ठेक्का पाएको हो । महानगर र निर्माण कम्पनी कला बिल्र्डसबीच गत १८ माघमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। तोकिएको समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको छ।