ढोरपाटन। बरेङ गाउँपालिकाले पर्यटक प्रवर्द्धन गर्न पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो ।
उक्त पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखले पार्क निर्माण गरेको बरेङ गाउँपालिकाले जनाएको छ। एक हजार सात सय मिटरको उचाइमा रहेको उक्त पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको बताइएको छ।
प्रतीक्षालय, घेराबार र खानेपानीको व्यवस्थापन गरिसकेको र अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको गाउँपालिकाले बताएको छ। उक्त स्थान ग्रामीण क्षेत्र भएका कारणले सो ठाउँका कला संस्कृति र परम्परालाई पर्यटकसँग जोड्न खोजिएको छ।
पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने गाउँपालिकाले जनाएको छ।।