काठमाडौं। काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने बारे काठमाडौं र ललितपुर महानगरपालिकाबीच छलफल भएको छ।
शुक्रबार काठमाडौंसहित ललितपुर र उपत्यकाका अन्य केही नगरपालिका जोड्ने गरी मेट्रो रेल सञ्चालन गर्न सकिनेबारे दुई महानगरका मेयरबीच छलफल भएको हो।
छलफल क्रममा ललितपुरका मेयर चिरिबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताए। उनले काठमाडौं महानगरको स्रोत–साधन र बजेट उपत्यकाका अरू स्थानीय तहभन्दा धेरै भएकाले मेट्रोजस्तो ठूलो लगानीको परियोजनामा काठमाडौंले नेतृत्व लिनुपर्ने र आफूले सहयात्रीको भूमिका निर्वाह गर्ने बताए।
काठमाडौं महानगरका मेयर बालेन शाहले पनि मेट्रो रेल उपत्यकाका लागि अत्यावश्यक भएको उल्लेख गर्दै यस सन्दर्भमा अन्य नगरपालिकासँग योजनाबद्ध छलफल सुरू गर्ने बताए।
यससम्बन्धी दीर्घकालीन योजनाले नै उपत्यकावासीको जीवनस्तर उन्नत हुने शाहले बताए। उनले योजना बनाउँदा कम्तिमा ५० वर्षको बनाउनुपर्ने धारणा समेत राखे।