काठमाडौं। नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन अर्को महिनादेखि सुरु हुने भएको छ। विज्ञ जनशक्ति थप गरेर मार्चदेखि काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययन गरिने भएको हो।
दुई महिना पहिले विस्तृत अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएर केही समय बसेर फर्किएको थियो। नयाँ वर्ष मनाउन गएको टोली फर्किए लगत्तै विस्तृत अध्ययन अघि बढाइने रेल विभागले जनाएको छ। उनीहरु फर्केपछि आवश्यक प्राविधिक जनशक्ति पनि थप हुने छ ।
पहिलो चरणमा आएका व्यक्ति रेलसम्बन्धी विज्ञ रहेको थिए । त्यसमा पनि तिब्बत क्षेत्रमा रेल निर्माणमा संलग्न मान्छे आएर सर्वेक्षण गरेका थिए ।
चिनियाँ पक्षले ‘स्टाण्डर्ड गेज’ मा निर्माण हुनेगरी अध्ययन गर्नेछ । भारतीय पक्षले निर्माण गरेको रेलमार्ग ‘ब्रोड गेज’ मा रहेकामा विश्वमा पछिल्लो र आधुनिक मानिने स्ट्यान्डर्ड गेजमा अध्ययन हुन लागेको हो । नेपालले सकेसम्म एउटै गेज गर्दा राम्रो हुने र यसले गर्दा भविष्यमा सञ्चालन र मर्मतमा सजिलो हुनेछ । अहिलेको सन्दर्भमा नवीनतम प्रविधि स्ट्यान्डर्ड गेज हो, भारत आफैँले पनि आफ्ना रेल स्ट्यान्डर्ड गेजमा बनाइरहेको छ ।