काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ। उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो।
उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो। मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ। पुराना टु्ववेल संरक्षण गर्न थालिएको छ। उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बताए।
काठमाडौंका कतिपय स्थानका बासिन्दा घरमा पानी नआएको गुनासो गर्दै आएका छन् ती स्थानमा पनि ट्याङ्करबाट सार्वजनिक ट्याङ्कीमा भरेर सुख्खा व्यवस्थापन गरिनेछ। लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युववेल खन्न लागेको छ। हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ। हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ।
लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुनकुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ। काठमाडौँ उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ। पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो। मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनःसमस्या बढेको छ।