काठमाडौं। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नेपाल सरकारका उच्च अधिकारीहरूले अनुगमन गरेका छन्। वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। ‘चिनियाँ पक्षले सामानको आयात किन बढाएनन्, नेपालतर्फको अवस्था के रहेछ भनेर टोलीले स्थलगत अवलोकन गर्नुभएको छ।
स्थलगत रूपमा अवलोकनका लागि आएका टोलीलाई प्रमुख जिल्ला अधिकारी जैसीले नाकामा रहेको यार्डलाई विस्तार गर्न आग्रह गरिएको बताए। ‘रसुवागढी नाकामा रहेको यार्डलाई विस्तार गर्न आग्रह गरेका छौँ, अहिले ६–७ वटा गाडीमा मात्र सीमित भइरहेको छ, छेउमै भूकम्पका वेलामा पहिरो गई माथिबाट बगेर आएर थुप्रिएको माटोलाई सफा गरेर थप विस्तार गर्न सकियो भने कम्तीमा पनि २० वटाभन्दा बढी गाडी अट्न सक्ने हुन्छ।
स्थलगत अवलोकनपछि वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले नाकामा देखिएका समस्या व्यवस्थापनमा लागिपर्ने बताए । कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष भइसकेको छ। कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ। ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो। त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो।
चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ। अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ। चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन्।
कोरोना संक्रमण सुरु हुनुअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो। व्यवसायीका अनुसार चीनको गोन्जाओबाट ल्याइएको सामान नेपाल २० देखि २३ दिनभित्रमा नेपाल आइपुग्ने गरेको थियो, तर अहिले नेपाल सामान आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने गरेको व्यवसायीले बताएका छन्।