हुम्ला। पानीको मुहान सुकेको २४ वर्षपछि अदानचुली गाउँपालिका–३ रोकायागाउँमा पानी आएको छ। २०५४ मंसिरबाट सुकेको मुहानमा पानी आउन थालेको हो। मुहानमा पानी आएपछि स्थानीयले पुरानै योजनामार्फत बनेका धाराहरूमा पानी उपयोग गर्न पाएका छन्।
मुहान सुकेपछि स्थानीयले लामो समयसम्म पानीका लागि सास्ती भोग्नुपरेको थियो । लामो समयपछि धेरै वर्षा भएकाले मुहानमा पानी निस्किएको कुरा त्यहाँका एक स्थानीयले बताएका छन्। लामो समयपछि पानी आएपछि स्थानीयले पुजाआजा गरी अस्थायी पाइप जडान गरी धारामा पानी पुर्याएका हुन्।
मुहानमा पानी आएपछि पानीका लागि आसपासका खोलाहरूमा जानुपर्ने बाँध्यता टरेको एक स्थानीयले जानकारी गराइन्। त्यस्तै आधा रातमै सल्लाको झर्रो बालेर एक घण्टा लतको खोलामा पुग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ साथै दिनरात पानीकै चिन्ता हुने र लामो समय टाढाबाट पानी बोक्दा ढाड दुख्ने समस्याबाट पीडित भएको उनको गुनासो छ।
खानेपानी समस्याका कारण बालबालिका र महिलाले लामो समयसम्म सास्ती भोग्नुपर्यो । तर अहिले घर नजिकै पानीको धारा बनेको कारणले गर्दा सबै काम गर्न सहज भएको छ। हाल सरसफाइका काम सहज बनेका छन्, अलपत्र शौचालय प्रयोगमा आउन थालेका छन्। साथै घर नजिकैको धाराको पानीलाई करेसाबारीमा लगाइ तरकारी उत्पादन गर्ने योजना पनि रहेको स्थानीयको भनाई रहेको छ।
सुकेको २४ वर्षपछि गाउँ नजिककै क्षेत्रको मुहानमा पानी निस्किएपछि ३ सय घरधुरीमा खानेपानी सुविधा पुगेको एक स्थानीयको भनाइ छ। पानीको मुहान जागेपछि खानेपानीकै कारण वर्षौसम्म भोगेको दुःख बिर्सिएको र अब मुहान नसुक्ने आशासहित पूजापाठ गरेपछि गाउँका धाराहरूमा अस्थायी पाइपलाइन निर्माण गरी पानी जोड्न थालेको उनिहरुले जनाएका छन्।