काठमाडौं। हुम्लाको अवरुद्ध सिमकोट–खार्पु सडक सञ्चालनमा आएको छ। पहिरो जाँदा सडक गएको असोज ३१ गतेदेखि ठप्प भएको थियो। मर्मतपछि लामो समय बन्द रहेको सडक सञ्चालनमा आएको हो।
गाडी चालक जोर बोहराले सडक नियमित सञ्चालनमा आएको बताए। पहिरो तथा खसेका ठूला चट्टानले सडकका दुई दर्जन स्थानमा अवरोध पुर्याएको थियो। सडक सञ्चालन नहुँदा यात्रु जोखिम उठाएर हिँड्न बाध्य हुँदै आएका थिए। यातायात सुचारु भएपछि यात्रुलाई सहज भएको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले निकै लामो प्रयासपछि कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाको समन्वयमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको जानकारी दिए। खार्पु स्याम्ने खण्डको सडक मर्मत गर्न प्रयोग गरिएको मेसिनको लागि इन्धन भने खार्पुनाथ गाउँपालिकाले सहयोग गरेको थियो।
यसैबीच वर्षाले भत्काएको सिमकोट–ठेहे सडकको पनि सिमकोट गाउँपालिकाले मर्मत कार्य अगाडि बढाएको छ। सो खण्डमा पनि आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको थियो। भत्किएको सडकको मर्मत कार्य अन्तिम चरणमा पुगेकोले अब चाँडै सो सडक सुचारु हुने सिमकोट गाउँपालिकाले जनाएको छ।
सिमकोटबाट हेक्सा खोलासम्मको १५ किलोमिटर सडकको पनि हिल्सा सिमकोट सडक आयोजनाले मर्मत गरेर यातायात सञ्चालनमा ल्याएको छ। आन्तरिक रुपमा सञ्चालनमा आएका सडकहरु पहिरोले अवरुद्ध भएपछि लामो समय बन्द रहँदै आएका थिए।