काठमाडौं। बागमती प्रदेशमा प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडा दर घटाइएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले सवारी भाडा घटाएको हो।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।
बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर लागू हुने छ । राजपत्रमा प्रकाशित गर्न बुधवार नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ ।
उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ । यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ।