काठमाडौं। भारतबाट व्यापारिक मालसामान लिएर भोलि बिहीबार मालवाहक रेल विराटनगर आइपुग्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका प्रधानमन्त्रीले बिहीबार रेल सञ्चालन सुरु भएको झन्डा देखाउने कार्यक्रम रहेको छ।
नयाँ दिल्लीमा दुवै प्रधानमन्त्रीले झन्डा देखाएर रेलकार्गोको उद्घाटन गर्नेछन्। उद्घाटनको दृश्य विराटनगरको सीमावर्ती भारतीय रेलवे स्टेसन बथनाहामा राखिएको अनलाइन डिस्प्लेमा देखिनेछ। यसपछि विराटनगरको आइसीपीसम्म आइपुग्ने गरी मालवाहक रेल हिँड्नेछ।
बथनाहामा उक्त मालवाहक रेललाई भारतीय रेलवे र भारतीय भन्सारका अधिकारीले बिदाइ गर्नेछन्। बथनाहाबाट मालवाहक रेल छुटेको १५ मिनेटमै विराटनगरको आइसीपीस्थित रेलयार्डसम्म मालवाहक रेल आइपुग्नेछ। बथनाहादेखि आइसीपीसम्मको दूरी ८ किलोमिटर छ।
आइसीपीमा मालवाहक रेलको स्वागत स्थानीय उद्योग वाणिज्य संघ, नेपाल रेल विभाग, भन्सार कार्यालय लगायतका निकायले गर्नेछन्।