मकवानपुर। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पूर्वाधार निर्माण गरी हेटौंडामा थप पानी वितरण गरेको छ।
सुक्खायामसँगै पानीको अभाव हुन थालेपछि बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरी दैनिक थप १० लाख लिटर पानी वितरण गर्न थालेको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे ब्यारेकअगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरेको बोर्डले जनाएको छ।
नेपाली सेनासँग स्वीकृति लिएर हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेकअगाडि राप्ती खोला नजिक ‘समवेल’ निर्माण गरिएको थियो। तीन दिनको निरन्तर प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डको भनाइ छ।