काठमाडौं। सडक डिभिजन भरतपुरले पुलको काम अलपत्र पारेको भन्दै लोहनी एण्ड ब्रदर्स प्रालिसँग ठेक्का तोडेको छ। डिभिजनले आज (सोमबार) सूचना जारी गर्दै ठेक्का तोडेको जनाएको हो।
कम्पनी र डिभिजनसँग बुढीराप्ती खोला फर्सेनीघाट पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। तर, पछि निर्माण कम्पनीले पुल निर्माण गर्ने काम अलपत्र पारेपछि डिभिजन ठेक्का तोड्ने निर्णयमा पुगेको हो।
डिभिजनले १ करोड ५३ लाख ६० हजार रुपैयाँ बाँकी काम गर्न निर्माण कम्पनीसँग असुल गर्ने भएको छ। पुल बनाउन ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
पुलको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। तर, बाँकी काम गर्न निर्माण कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको डिभिजनले सचनामा उल्लेख गरेको छ।
