काठमाडौं। पप्पु–कोशी एण्ड न्यौपाने जेभीलाई ३५ दिनभित्र ५३ करोड ३४ लाख रुपैयाँ तिर्न ताकेता गरेको छ। शहिदमार्ग सडक योजना लिवाङ, रोल्पाले पप्पु–कोशी एण्ड न्यौपाने जेभीलाई ३५ दिनभित्र ५३ करोड ३४ लाख रुपैयाँ तिर्न ताकेता गरेको हो।
योजनाले सोमबार सूचना जारी गर्दै उक्त जेभीलाई रकम दाखिला गर्न भनेको हो। पप्पु–कोशी जेभीले योजनाको सडक विस्तार गर्न कन्क्री– मैकोट खण्ड र दिमार गैरा–हुकुम खण्डको ठेक्का पाएको थियो। तर, उक्त ठेक्का ओगटेर काम भने नगरेको योजनाले सूचनामा उल्लेख गरेको छ।
निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि उक्त सडक खण्ड विस्तारको काम समयमा सम्पन्न नगरेपछि गत पुसमा योजनाले ठेक्का तोडेको थियो।
ठेक्का अन्त्य गरेपछि कारवाहीस्वरुप खरिद सम्झौता बमोजिम बाँकी काम गर्न लाग्ने पैसा, त्रुटिपूर्ण कामको रकम, जफत गरिएको अग्रिम पेस्कीको ब्याज लगायत हुना आएको कुल रकम ५३ करोड ३४ लाख रुपैयाँ रहेको योजनाले जनाएको छ।
योजनाले गत वैशाख १३ मा निर्माण कम्पनीलाई उक्त रकम तिराउने निर्णय गरेको थियो। जेभीका प्रतिनिधि सम्पर्कमा नआएपछि अहिले आएर सूचना जारी गरेको हो। योजनाले पप्पु–कोशीलाई सूचना जारी भएको ३५ दिनभित्र उक्त रकम सरकारको राजस्व शाखामा जम्मा गर्न समयावधि तोकेको छ।
